गृहपृष्ठप्रदेशमहत्वपूर्ण समाचार

सुदूरपश्चिममा महिला हिंसा वृद्धि

२६ भदौ, सुदूरपश्चिम – प्रदेशमा जबरजस्ती करणी, घरेलु हिंसा र आत्महत्याका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको लकडाउन अवधिमा विशेष गरी प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटनामा बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
गत चैत महिनायता हालसम्म प्रदेशका नौ वटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी १५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार गत चैत महिनामा कैलालीमा ६, कञ्चनपुरमा ३, बाजुरा र बझाङ्गमा दुई÷दुई र बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन् । चैतमा जबरजस्ती करणी तर्फ कैलाली र कञ्चनपुरमा दुई÷दुई वटा गरी चार वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
पछिल्लो समय जबरजस्ती करणीका मुद्दाहरु पनि बढ्दै गएको देखिएको छ । त्यसैगरी गत बैशाखमा कैलालीमा ८, कञ्चनपुरमा ३ र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक÷एक गरी जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएका बताइएको छ ।
यस्तै गत जेठमा यहाँ जवरजस्ती करणीमा २३ र जवरजस्ती करणी उद्योगमा ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र उद्योगमा १२ वटा मुद्दा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयहरुमा दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा दर्ता भएका छन् ।
गत साउनमा पनि जबरजस्ती करणी सम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
साउनमा जबरजस्ती करणीमा २१ र सो सम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन् ।यही भदौ महिनामा पनि जबरस्ती करणी सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बन्दाबन्दीमा जबरजस्ती करणी र उद्योगमा घटना विगतजस्तैको अवस्थामा रहेको जानकारी दिनुभयो । “विगतको तथ्याङ्क हेर्ने हो भनेपनि केही तलमाथि बाहेक समान नै छ ।” उहाँले भन्नुभयो–“बन्दाबन्दी भएर यसप्रकारका मुद्दा बढे भनिहाल्नुपर्ने अवस्था छैन् ।
उहाँले उक्त घटनाहरुमा अभियुक्तहरु कानुनी कारबाहीको दाउरामा रहेको जानकारी दिनुभयो । “अपराधमा संलग्नहरु यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन ।” उहाँले भन्नुभयो–“कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दुरदराजसम्म पुगेर सुरक्षाको आभाष दिलाइरहेकै छ ।”
त्यसैगरी माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले लकडाउन अवधीमा महिला हिंसाका घटनाहरु बढेको बताउनुभयो । “सबै जना बेरोजगार भए, गुजारा चलाउन पनि गाह्रो हुने स्थित भएकाले हिंसा बढ्ने अवस्था छ ।” उहाँले भन्नुभयो–“अपराध नियन्त्रण गर्न कारवाही पक्ष बलियो हुनुपर्छ ।” उहाँले पछिल्लो अवस्थामा बेरोजगारी समस्या बढिरहेकाले स्वरोजगारका कार्यक्रम ल्याउन आवश्यक छ ।”
उहाँले माइती नेपालमा पनि जवरजस्ती करणी उद्योगका मुद्दाका साथै महिला हिंसाका घटनाहरु लिएर पीडितहरु उजुरी लिएर आइरहेको जानकारी दिनुभयो । “बन्दाबन्दीमा मानव बेचबिखन गर्ने दलालहरुको गिरोह पनि सक्रिय छ ।” उहाँले भन्नुभयो–“भारत आवत जावत सुचारु हुन दिदा विभिन्न चलाखी गरेर सीमा कटाउने प्रयास हुदैछ ।”नेपालीहरुको नक्कली भारतीय परिचयपत्र ल्याएर सीमा कटाउने काम भइरहेको उहाँले बताउनुभयो ।

आत्महत्या बढ्दो

प्रदेशमा आत्महत्या गर्नेहरुको सङख्या पनि बर्षेनी बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७६ र ०७७ मा प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको बढी हो ।
प्रदेश प्रहरीको तथ्याङ्कले हरेक वर्ष यहाँ आत्महत्या गर्नेहरुको सङ्ख्या वृद्धि हुदै गइरहेको देखाएको छ । “आत्महत्याको दर पनि विगत बर्ष र अहिलेको अवस्थामा समान जस्तै छ ।” प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिंहले भन्नुभयो–“सङ्ख्यामा वृद्धि भएपनि धेरै अन्तर भने छैन ।” उहाँले लकडाउनयता सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी ३०६ जनाले आत्महत्या गरेको बताउनुभयो ।
बितेको झण्डैं ६ महिनाको अवधिमा सबैभन्दा बढी कैलालीमा ११० जनाले आत्महत्या गरेका छन् । गत चैत ११ गतेयता आर्थिक मसान्तसम्म कैलालमिा ८१, कञ्चनपुरमा ६८, डोटीमा १५, अछाममा १४, बैतडीमा १२, दार्चुलामा १०, डडेल्धुरा र बझाङ्गमा ९÷९ र बाजुरामा ६ जनाले गरी २२४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७२÷०७३ मा ४५६, २०७३÷०७४ मा ४३६, ०७४÷०६ं७५ मा ४७०, २०७५÷०७६ मा ४७५ र गत आर्थिक बर्षमा ५५१ जनाले आत्महत्या गरेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
चार बर्षयताको तथ्याङ्क हेर्दा सबैभन्दा बढी झुण्डिएर र त्यसपछि विष सेवन गरेर मर्नेको संख्या धेरै छ । त्यसैगरी पानीमा हाम फालेर, हातहतियार प्रयोग गरेर र विष्पोटक पदार्थ प्रयोग गरेर पनि सुदूरपश्चिममा आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । प्रदेशमा आर्थिक वर्ष २०७२ र ०७३ देखि ०७६ र ०७७ सम्म दुई हजार तीन सय ८८ जनाले आत्महत्या गरेका छन् । ती मध्ये बालिबालिकाले समेत रहेका जनाइएको छ ।
प्रहरीले कतिपय आत्महत्या घरेलु हिंसा र पारिवारिक कलहका कारण पनि भइरहेको विश्लेषण गरेको छ ।“आत्महत्या र आपराधिक घटनाहरु रोकथामका लागि प्रहरीलेसचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।” उहाँले भन्नुभयो,“अपराध रहित समाज निर्माणका लागि सबैको सहयोग÷सहकार्य आवश्यक छ ।”
त्यसैगरी महेन्द्रनगरस्थित अधिवक्ता पुनम चन्दले घरेलु हिंसा, आत्महत्या र जबरजस्ती करणीका मुद्दाहरु बढिरेहको बताउनुभयो । “कतिपय घटनाहरु गाउँघरमै मिलापत्र गरेर लुकाइएको पनि देखिन्छ ।” उहाँले भन्नुभयो,“मानिस पहिले भन्दा चेतनशील भइसके, न्याय खोज्न पनि आउने क्रम बढ्दै छ ।”