गृहपृष्ठसमाचारविचार

सन्दर्भ निजामती सेवा दिवस : कर्मचारीतन्त्र रुपान्तरण

कोभिड-१९ को संक्रमणले सिर्जना गरेको प्रतिकूल अवस्थामा निजामती सेवा दिवस यसपालि “स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन” भन्ने मूल नारातय गरिएको र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै १७ औं निजामती सेवा दिवस मनाइरहेका छौं ।स्थापनाकाल देखि हालसम्म इतिहासको विभिन्न कालखण्डमा नेपालको निजामती सेवाले महत्वपूर्ण जिम्मेवारीहरु पूरा गर्दै आइरहेको छ र विगतको लामो संक्रमणकालीन अवस्थामा पनि राज्य सञ्चालनमा न्यूनतम स्थिरता दिन सकेको कुरा सबैमा जगजाहेर नै छ ।अहिले पनि नेपाल सरकारद्धारा घोषित सुखी नेपाली र सम्वृद्ध नेपालको राष्ट्रिय आकांक्षा प्राप्तिको दिशामा काम गर्दै आइरहेको छ ।

सुख र सम्वृद्धिको नेपाल सरकारद्धारा तय गरिएको राष्ट्रिय कार्यदिशा अनुरुप कोभिड-१९ को संक्रमणद्धारा सिर्जित परिस्थितिको सामना गर्दै आम जनतालाई प्रभावकारी रुपमा गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने, आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, जनजीविकाका सवालहरु सम्बोधन गर्ने र पूजींगत खर्च गर्ने सरकारको क्षमतामा वृद्दि गरी विकास निर्माणको कार्यहरुलाई द्रूत रुपमा अगाडी बढाउने र समग्रमा मुलुकको आर्थिक सम्वृद्धिलाई गति दिने सरकारका महत्वपूर्ण जिम्मेवारीलाई व्यवहारमा रुपान्तरण गर्ने कार्यहरुमा निजामती कर्मचारीहरुको अग्रणी भूमिका रहने कुरा विदितै छ । यी सबै महत्वपूर्ण काममा निजामती सेवा खरो रुपमा उत्रनु पर्ने अवस्था आएको छ । यस दिशामा अगाडी बढी निजामती सेवाको समग्र छवि सुधार गर्नु निजामती सेवाकै  प्रमुख चुनौती हो ।
आज निजामती सेवा एकातिर संविधानमा उल्लेखित नयाँ शासकीय संरचना र जनताका परिवर्तित माग र आकांक्षा अनुरुप तीनै तहका सरकारद्धारा तय गरिएको नीतिलाई व्यवहारमा कार्यान्वयनमा जुट्नु पर्ने अवस्था छ भने अर्कातिर नयाँ शासकीय संरचनाबाट आफै नै सवैभन्दा बढी प्रभावित भएको पनि देखिन्छ ।

आजको २१ औं शताब्दीमा प्रत्युत्तरमुखी, नतिजामुखी, समावेशी र जवाफदेही निजामती सेवाले मात्र अहिलेको चुनौती सामना गर्न सक्छ ।त्यसो त नेपालमा विगतमा विभिन्न कालखण्डमा भएका प्रशासनका सुधार र लगानीबाट निजामती सेवामा ठूलो संख्यामा सक्षम व्यक्तिहरु उत्पादन भएको तर संस्थागत तहमा तुलनात्मक रुपमा असक्षम रहेको भन्ने आम विश्वास रहेको छ ।यो प्रवृत्ति बढ्दोरुपमा रहेको पनि आशंका गरिन्छ । निजामती सेवाप्रति  अझै पनि बजारमा रहेको ठूलो जनशक्तिको आकर्षणको केन्द्रविन्दु रहेको कुरा समेत दिनको घामजस्तै छर्लङ छ । हुन पनि व्यक्तिगत रुपमा होनहार प्रतिष्पर्धीहरु दाँया बायाँ नलागी निजामती सेवालाई लक्ष्य बनाएर सेवा प्रवेश गर्ने गरेका छन् ।

निजामती सेवामा धेरै सक्षम व्यक्तिहरु रहेको तर संस्थागत रुपमा असक्षम रहेको विश्वास सही हो भने यसको दार्शनिक पृष्ठभूमिलाई संक्षिप्त रुपमा केलाउनु आवश्यक देखिन्छ।दार्शनिक हेगेलले राज्यको बौद्धिक सामाजिक व्यवस्थाको श्रृंखलाको परिवार र समाज पछिको अन्तिम चरणको रुपमा रहेको कर्मचारीतन्त्रले समुदायको सामान्य हितको प्रतिनिधित्व गर्ने, समाज र राज्यबीच सम्पर्क सूत्रको भूमिका निर्वाह गर्ने संश्लेषण गर्दै यसलाई सार्वजनिक पूंजीको रुपमा लिएका छन् ,यसको विपरित दार्शनिक कार्ल मार्क्सले  यूरोपको समग्र राज्य संयन्त्रको नजिकबाट अध्ययन अवलोकन पश्चात् राज्य संयन्त्रलाई सामाजिक व्यवस्थाको एक अंगको रुपमा चित्रित गर्दै यसले वास्तविक कार्यलाई पूर्णता प्रदान गर्ने योग्यता राख्दैन तर सर्वोच्च उदेश्यका लागि काम गर्छ भनेका छन ।जसले चलाखीपूर्ण रुपमा आफ्नो हितलाई सामान्य हितको रुपमा व्याख्या गरेर आफ्नो हित संरक्षण प्रवर्द्धन गर्दछ, यसले समुदायको कार्य यस प्रकार नियमित र व्यवस्थित गर्छ जसबाट आफ्नो हित र स्वार्थ संरक्षण हुन्छ भन्ने संश्लेषण गरे । यस दार्शनिक बहसको पृष्ठभूमिमा निजामती कर्मचारीले आम जनताको आफूप्रतिको यो छविलाई बदल्नु जरुरी छ । यसक लागि हेगेलले भने जस्तो सार्वजनिक पूंजीको रुपमा हाम्रो जीवन र जगत नै निजामती सेवा हो भन्ने दिशामा अगाडी बढ्नु पर्छ ।न कि आफ्नो हितलाई सामान्य हितको रुपमा व्याख्या गरेर आफ्नो हित संरक्षण प्रवर्द्धन गर्नेतर्फ ।यो छवि केही हदसम्म विगतको विरासत पनि हो ।

निजामती कर्मचारीको पहिचान कडा शक्तिसंग होइन नरम शक्तिसंग हुनुपर्छ । किनभने नरम शक्ति सद्भावको भावना विकास गर्ने ठूलो माध्याम बन्न सक्छ ।कुनै पनि कार्यालयको प्रमुख अर्थात् हाकिम भनिने व्यक्ति सात ढोका भित्र रहन्छ भन्ने भाव जनतामा कहिल्यै पर्न दिनु हुँदैन । कर्मचारीसंग हरेक समस्याको बनिबनाउ समाधान संभव हुंदैन भन्ने कुरा जनसमुदायलाई राम्रोसंग थाहा छ ।सेवाग्राह्री जनसमुदायले केवल उनीहरुको गुनासोको सुनुवाई र उनीहरुप्रति सम्मानपूर्ण व्यवहार चहान्छन् ।उनीहरुको कुरा सही ठाउँमा पुगोस् यत्ति कुराबाट पनि कहिलेकाँही उनीहरु सन्तुष्ट हुन्छन् ।

निजामती सेवा दिवसको अवसरमा हरेक राष्ट्रसेवक कर्मचारीहरुले मन मष्तिष्कमा आज म जे छु यो मलाई मेरो देशले दिएको हो मेरो समाजले दिएको हो ।यो देशका करिब तीन करोड नेपालीले दिएको हो ।यो देश मेरो हो यो देशका जनता मेरा हुन् ।यो सेवामा प्रवेश गरेपश्चात् जुन सुविधा सम्मान मलाई मिलेको छ यसमा गरिबको नेपालीको पसिनाको गन्ध छ भनेर सोच्नु पर्छ ।हामी राष्ट्रसेवकहरु देशका सबै जनसमुदाय र खासगरी गरिब र सीमान्तीकृत जनसमुदाय प्रति ऋणी छौं ।उनीहरुको ऋण चुकाउने उपाय भनेको जनसमुदायको जीवन सहज बनाउँ जुन उनीहरुको हक अधिकार पनि हो ।त्यसका लागि इमान्दारीतापूर्वक प्रयास गरौं । पूरै प्रयासका साथ मेहनत गरौं ।जनसमुदायबाट पृष्ठपोषण प्राप्त गर्ने दायरालाई विस्तार गरी फराकिलो बनाउँ । हामीले लिएको नीति र गर्ने निर्णयलाई लिएर जे पृष्ठपोषण आउँछन् तिनलाई निष्पक्ष भै इमान्दारीपूर्वक मूल्याँकन र लेखाजोखा गरौं ।हाम्रो आँखा र कानलाई राम्रो लाग्ने कुरा मात्र सुन्ने र देख्ने होइन ।आँखा र कानलाई नराम्रो लाग्ने कुरा पनि सुन्ने र देख्ने गरौं । हामी हाम्रो कार्यसम्पादनको सिलसिलामा कोठामा सीमित नबनौं।किनकी कोठामा मात्र बस्दा घेरा सीमित हुन्छ ।कोठामै मात्र बस्नाले सामान्य समस्याको बारेमा समेत सही र यथार्थ जानकारी हुंदैन ।हामी सुविधाजनक क्षेत्रबाट बाहिर निस्किऔं । जनसमुदायसंग जोडिउँ। यसबाट मात्र सही नीतिगत निर्णयमा पुग्न सकिन्छ ।

संघीयता कार्यान्वयनको आरम्भिक चरणमा नै नेपाली नागरिकलाई सवल र सशक्त बनाई स्थानीय र प्रदेश तहको निर्णय प्रक्रृयामा सहभागी बनाइ सेवा प्रवाहमा प्रभावकारीता हासिल गर्दै उनीहरुमा परिवर्तनको अनुभूति दिनु र राज्य व्यवस्थाप्रति जनताको विश्वास सिर्जना गर्नुपर्दछ।परिवर्तन पछि स्थान कहाँ हुन्छ र परिवर्तनबाट मैले के पाँउछु भन्ने सोचबाट माथि उठेर समग्र देश र भावी पुस्ताको हितका लागि व्यक्तिगत स्वार्थलाई त्याग्न जरुरी छ ।

परिवर्तित समयका प्राथमिकता, माग र आवश्यकता अनुरुप राष्ट्र र जनताका हितमा केन्द्रित भइ आवश्यक परेमा विधि र दस्तावेजहरुका मनसाय र शब्दका बीच सही र न्यायोचित ढंगबाट व्याख्या र ग्रहण गर्दै नेपाली समाजको रुपान्तरणमा सघाउ पुर्‍याउनु आम जनसमुदायको मुहारमा परिवर्तन ल्याउन सकिएमा निजामती सेवा दिवस मनाउनुको सार्थकता पुष्टि हुन सक्छ ।

निजामती सेवालाई प्रभावकारी बनाउने, कर्मचारीहरुको क्षमता विकास गर्ने, कर्मचारीहरुको पीरमर्का र गुनासाहरुको सम्बोधन गर्ने जस्ता कर्मचारी कल्याणका विविध कार्यक्रमहरु मार्फत् निजामती सेवामा कार्यरत कर्मचारीहरुको उत्प्रेरणा र मनोवल बढाइ सरकारको प्रभावकारीता अभिवृद्धि गर्ने विषयमा सरकारबाट यथोचित सम्बोधन हुन सकेमा सुख र सम्वृद्धिमा योगदान पुर्‍याउन मद्धत पुग्ने देखिन्छ ।

अन्तमा, आम समुदायको जीवनमा गुणस्तरीय र सार्थक परिवर्तन ल्याउन निजामती कर्मचारीमा सदा सेवाग्राहीको सेवामा समर्पित हुन बुलन्द इच्छाशक्ति हुनुपर्ने, निष्पक्ष र निस्वार्थ भावबाट व्यवसायिक रुपमा गरिएको हरेक प्रयास नयाँ नेपाल निर्माणको आधार बन्ने, नयाँ नेपालको परिकल्पना साकार पार्न शासन व्यवस्था र कर्मचारीतन्त्रमा २१ औं शदीको सोच र सपना अनिवार्य हुने र यसका लागि सिर्जनात्मक र रचनात्मक, परिकल्पना गर्ने र नवप्रवर्तनमूलक, अग्र क्रियाशील र नम्र र व्यवसायिक र प्रगतिउन्मुख, गतिशील र सवल, दक्ष र प्रभावकारी अनि पारदर्शी र प्रविधिमैत्री कर्मचारीतन्त्र हुनुपर्ने अर्थात् Creative and Constructive, Imaginative and Innovative, Proactive and Polite, Professional and Progressive, Energetic and Enabling,Efficient and Effective र Transparent and Tech Enabled bureacracy हुनु पर्ने मान्यता अनुरुप अगाडी बढ्न जरुरी हुन्छ । कोभिड-१९ संक्रमणको हालको प्रतिकूल परिस्थितिमा प्रतिकूलता भित्र अनुकूलता सिर्जना निस्वार्थ भावले जनसेवामा जुटौं !

(लेखक :नुवाकोट जिल्लाका प्रजिअ हुनुहुन्छ )