विचार

दलीय शासनमा मूल्यको राजनीति र नेपालका राजनीतिक दल

तीस वर्षको संसदीय अभ्यासले बेलायती मोडेल वेष्टमिनिस्टर सिष्टम नेपालका लागि उपयुक्त छैन भन्ने सिद्ध भएको छ । राजनीतिक संस्कार संस्कृतिको अभाव, पार्टीहरुमा व्याप्त अराजकता, नेताहरूको गैरजिम्मेवार प्रवृत्ति र उच्च आकांक्षा सरसरर्ती हेर्दा यो व्यवस्थामाथि आइलागेका संकटका कारण हुनसक्छन् । तर गहिरिएर अध्ययन गर्ने हो भने यो व्यवस्था असफल हुनुका कारण धेरै छन् । जनचेतनाको कमजोर धरातल, राजनीतिक क्षेत्र भ्रष्टाचारमा लिप्त रहनु पार्टी भित्रै न्याय गर्न नसक्नु, सत्तामा पुग्नका लागि शक्तिकेन्द्र रिझाउने प्रवृत्ति हाबी हुनु , संसदीय प्रणालीलाई आत्मसात गरेर राजनीतिमा प्रवेश गरेका दलहरूको अभाव हुनु वा बाहिरी प्रभावबाट राजनीतिक नेतृत्व निरपेक्ष रहन नसक्नुजस्ता कारणले आजको राजनीतिक सङ्कट पैदा भएको देखिन्छ ।जनस्तरमा यो व्यवस्थाप्रति वितृष्णाको लेवल उच्चतम बिन्दुमा पुगे पनि पार्टी नेतृत्व र लालची बुद्धिजीवीको भरथेगले मात्र अहिलेसम्म टिकेको कुरा निशंका दाबा गर्न सकिन्छ । अब यो पद्धति यथास्थिति मै चल्न सक्ने अवस्था बिल्कुलै छैन । यसको विकल्प यहाँभित्र सुधार हुन सक्छ, कि आमूल परिवर्तनको मार्ग रोज्नुपर्छ भन्ने कुराचाहिँ बहसको विषय हुनसक्छ  ।

प्रभु नारायण बस्‍नेत

राजनीतिक आन्दोलनको अनुभव नेपालका राजनीतिक दलहरुमा पर्याप्त्त थियो तर तिनीहरूमा शासन सञ्चालनको ज्ञान र अनुभव दुवैको कमी रह्यो ।. अझ नेपाली कांग्रेसको संसदीय प्रजातन्त्रको बैशाखी टेकेर क्रान्तिकारी भनिने कम्युनिष्टहरु पनि हिँड्नु’ विडम्बनाको विषय रह्यो ।. नेपालको राजनीतिका दुई प्रभावशाली शक्ति भनेका कांग्रेस र कम्युनिस्टहरू नै हुन् . नेपाली काँग्रेसको सैद्धान्तिक आधार समाजवाद हो भने कम्य’निष्टहरुको को सम्यवाद । दुवै शक्ति भित्र निष्ठा, इमान्दारीता र बचनबद्धता निकै कमजोर रह्यो । सत्ता स्वार्थ अत्यन्त प्रबल । दलहरूको सिद्धान्तहीन, नीतिहीन र कार्यक्रम शुन्य आन्दोलनले राष्ट्रलाई दिशा दिन नसक्नु स्वभाविक हुन्थ्यो  । २००७, ०१७ पछिको पञ्चायत विरोधी आन्दोलन र २०६२/०६३ को आन्दोलनले पाएको सफलता जनताको दृष्टिमा तुहिनुको प्रमुख कारण पनि त्यही हो । राजनितिक दलहरुले आफ्नो आदर्श, दार्शनिक आधार, लक्ष्य बिर्सेर सत्ताको लागि अनुचित गठबन्धन निर्माण गर्ने र शक्ति आर्जन गरेपछि उचित अनुचित जे पनि गर्दा पटक पटक संकटको सामना गर्नुपर्यो ।

गणतन्त्र आएपछि १२ वर्ष बेहोरेको अकल्पनीय र अपूर्व संकटले चांहि  नेपाली जनतालाई निराश तुल्याएको छ । राजनीतिमा चरम निराशावाद अत्यन्त खतरनाक हुन्छ ।. त्यसलाई समयमै हल दिन सकिएन भने त्यो महाविनाशक विद्रोह वा भनौ सुनियोजित आतंकवादमा परिणत हुनसक्छ । सिद्धान्त नीति कार्यक्रम नेतकाा सत्ता स्वार्थ सिद्धिका हतियार बनिरहेको वास्तविकता कार्यकर्ताले राम्रैसँग बुझेपछि स्थितिले विस्फोटक रूप लिन सक्छ। यस्ता घटना दुनियाको इतिहासमा पटकपटक घटेका छन् ।समयमा विचार पु¥याइएन भने सृुन्दर हिमाली देश नेपाल त्यसको पछिल्लो शिकार हुनसक्ने खतरा छ ।.

राजनीतिक दलहरुले के को आधारमा आफ्ना उदेश्य निश्चित गर्दछन् र लक्ष्या निर्धारण गर्छन् भन्ने बुझ्न नसकिने भएको छ । एमालेका स्वर्गीय महासचिव मदन भण्डारीले स्पष्ट रुपले भनेका थिए – “जोगी हुन कसैले पनि राजनीति गर्दैन ।”त्यसैगरी दश वर्ष जनयुद्ध कालमा माओवादीले सत्ता बाहेक सब कुरा मिथ्या र बकवास हो भनेर हजारबार दोहोराएको थियो । नेपाली वामपन्थको असलियत यही हो तर लक्ष्य निर्धारण सत्तालाई केन्द्रमा राखेर गरिनु हुँदैन त्यसले अनपेक्षित दुर्घटना निम्त्याउन सक्छ,पार्र्टीको लक्ष्यमा एक दुई गरेर बुंदा थाप्दै गएर जनतालाई गुमराहमा राख्ने प्रवृति राजनीतिमा ठगी धन्दा हो । हिन्दुस्तानबाट अंग्रेज धपाउने आन्दोलन चलिरहेको बेला थियो । अहिंसात्मक धारको नेतृत्व महात्मा गान्धीले गरेका थिए , भगतसिंह शहीद भैसकेका थिए । अहिंसाको बाटोबाट मुक्ति सम्भव छैन भन्ने विश्वास राख्ने सुभाष चन्द्रवोस आजाद हिन्द फौज गठन गरेर सशस्त्र संघर्षको तयारीमा थिए .। पार्टीभित्र गान्धीलाई साथ दिइरहेका जवाहरलाल नेहरू वामपन्थी यशपाल समेतले सल्लाह गरि पार्टीको उद्देश्यमा समाजवादको एउटा बुदा खप्नु पर्छ भन्ने धारणा बनाए ।. यो रुसी अक्टोबर क्रान्तिको जबर्जस्त प्रभाव थियो उनीहरुले नै पार्टी बैठकमा प्रस्ताव पनि राखे तर गान्धीले आफुलाई समाजवादको बारे कुनै ज्ञान नभएकोले समाजवादको लक्ष्य हुने पार्टीमा बस्न नसक्ने भनेर आफूले नेतृत्व छोड्ने अडान प्रस्तुत गरे, त्यसपछि त्यो प्रस्ताव त्यतिकै तुहियो .।

स्पष्ट छ , राजनीतिक पार्टीहरूसँग सिद्धान्त र व्यवहारमा मेल खाने कार्यक्रम हुनुपर्छ सिद्धान्तको आलोकमा लक्ष्य निर्धारण हुनुपर्छ । सबैलाई बुझाउन शब्दजाल रच्नु राजनीतिक धर्म होइन अहिले नेपाल त्यसको अपवाद भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको समावेशी सिद्धान्तको आधार के हो ? हामीले बारम्बार उच्चारण गर्ने गरेको सकारात्मक विभेदको पृष्ठभूमि के हो ? त्यो कहाँबाट ल्याइएको हो ? विभेद सकारात्मक नकरात्मक हुन्छ कि हुँदैन ? रुल अफ ल को सिद्धान्तले विभेदलाई स्थान दिन्छ कि दिँदैन ? यस प्रश्नमाथि विचार पुर्याउन सकियो भने अहिले देखिएको संकट हटाउन सम्भव छ .।
वर्गशत्रु खत्तम गर्ने लाइनबाट राजनीतिमा आएका झापाली माले र संसदीय व्यवस्था खतम गरेर नयाँ जनवाद ल्याउने जनयुद्धको पृष्ठभूमिबाट आएका माओवादीको गठजोड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले संसदीय धार को राजनीतिक मूलप्रवाह बनेको छ ।. यो आन्दोलनबाट विचलित भएको उदाहरण होइन विचलन त त्यही सिद्धान्त राजनीति र आन्दोलनमा रहेर आउने भडकाव हो .। माओवादी र एमाले मिलेर बनेको नेकपा त पूर्णरुपले पतन भएको छ .। कुनैपनि पतित व्यक्ति वा शक्तिको नैतिक मूल्य समाप्त भइसकेको हुन्छ नैतिकतावादीहरु भाँड मानिन्छन् .। अहिले नेकपा त्यस्तै राजनीतिक भाँड सावित भएको छ . हुन त संवैधानिक राजतन्त्र र संसदीय बहुदलीय व्यवस्थाको पक्षद्वारा नेपाली काँग्रेस पनि विदेशी शक्ति र “ कम्युनिष्टसँग मिलेर राजतन्त्र समाप्त पार्ने संग्रामको नेतृत्व गर्न अग्रसर भयो । त्यो उसको पतनको प्रमाण हो । पार्टीका संस्थापक समेत रहेका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले त्यसैलाई इश्यु बनाएर पार्टी सदस्यता परित्याग गरे । काँग्रेसमा नैतिकता भएका एकाध नेता रहेछन् भन्ने त्यो ज्वलन्त उदाहरण हो तर कम्युनिष्टमा नैतिकताको चर्को खडेरी परेको छ । सत्ता स्र्वार्थ, सत्ता लिप्साको अगाडि कुनै मुल्य मान्यता, विधि, पद्दति काम लाग्दैनन् सबै फिका ।
यसरी के स्पष्ट देखिन्छ भने आजकोृे गहिरिंदो राजनैतिक संकटको मूल कारण सिद्धान्त हिनता हो । सिद्धान्त, आदर्श र मुल्य मान्यता परित्याग गरेपछि राजनीतिमा बाँकी केही रहँदैन । कुर्सी, पद, वैभव र शानका खातिर राजनीतिलाई दुरुपयोग गर्ने प्रवृति हावी भएको बेला भ्रष्टचार बढ्यो, लुटतन्त्र हावी भयो, नातावाद कृपावादले सीमा नाघ्यो, राष्ट्रलाई लुट्नेहरुको बाहुल्यता देखियो भन्नुको अर्थ रहदैन । यति होल्डिङ्ग्स, ओम्नी समूह, शारदाप्रसाद अधिकारी वा त्यस्तै ऐरे गैरेले चलाएको सरकार कसको पक्षमा हुन्छ स्वतः प्रष्ट छ । नेताहरुले एकचोटी मन्त्री, प्रधानमन्त्री, सांसद भएपछि वा कुनै राजनीतिक नियुक्ति लिएपछि सात पुस्तालाई पुग्ने सम्पत्ति कमाउने लालसा त्याग गर्न सक्ने हो भने बल्ल सकारात्मक शुरुवात हुन सक्थ्यो । शासनसत्ताको लगाम तस्कर, कालो बजारिया, दुई नम्बरी धन्दा गर्नेहरुको हातमा पुग्ने थिएन । तर संकेत चिन्हहरुले सूर्य त्यो दिशातर्फ मोडिएको देखिएको छैन ।
सत्ता मोहकै कारण अर्को डरलाग्दो संकट देखिएको छ, राष्ट्रको अस्तित्व संकटमा पर्ने खतराको । सत्तामा पुगेपछि राष्ट्रहीत गौंण र शक्ति राष्ट्रहरुको हित प्रमुख रहने बिशेषता जुनसुकै दलको संदर्भमा पनि अकाट्य सत्य बन्न पुगेको छ राजनीतिक संधर्षमा सहयोग गर्ने, सत्ता पल्टाउन मदत गर्ने छिमेकीले दलहरुलाई विरालोले मुसा खेलए झै खेलाइ रहेका छन , यो क्रम  अनन्तकाल देखि जारी छ । चाहे हुकुमी शासन होस ,चाहे प्रजातन्त्रमा होस। पञ्चायत वा लोकतान्त्रिक गणतन्त्रमा होस यो सिलसिला अटुट रुपले जारी छ । यसरी राजनीतिक प्रणालीलाई नकामसिद्ध गराउन बर्तमान नेतृत्वको भ्रष्ट प्रवृत्ति नालायकी निकम्मापन जिम्मेवार छ ।
राजनीतिक प्रणालिको सफलता–असफलताको मुल आधार नेतृत्वको निष्टा र क्षमतामा निर्भर गर्छ । सक्षम र इमान्दार नेतृत्वले जस्तोसुकै आँधि तुफानलाई झेलेर भएपनि वेडा पार गराउन सक्छ । तर नियत खराव छ वा कुनै कौशल छैन भने राम्रो मौसममा पनि नाउ दुबाउन सक्छ । अहिले हाम्रो लागि राजनीतिक मौसम पनि अनुकुल छैन र प्रतिकूल अवस्थामा नेतृत्व सम्हालने सक्षम व्यक्ति पनि दृष्यमा देखिदैन । यहि दुर्भाग्यपूर्ण स्थितिको लाभ उठाएर गलत तत्वले अनुचित ढंगले लाभ लिइरहेको छ । यसले शुरुमा जनतामा डरलाग्दो निराशाको स्थिति सिर्जना गराउछ र फेरि छिटै त्यो निराशा आक्रोसमा परिणत हुने र थप उथलपुथल,आराजकता ,अन्योल पैदाहुने खतरा रहन्छ ।
यस संकटबाट मुलुकलाई बचाउन दोहोरो चरित्र भएका, सिद्धान्त छोडेर शक्ति आर्जनमा मात्र ध्यान दिने,असक्षम नेतृत्वलाई विस्थापित गरेर दुरदृष्टि भएका सक्षम निस्वार्थ भावले काम गर्न तयार नेतृत्व अगाडि आउन जरुरी छ । कम्युनिष्ट पार्टीको नाममा संसदीय राजनीति गर्नेहरुले राजनीतिको धर्म निर्वाह गर्न सक्दैनन् । कि त तिनले आफुलाई कम्युनिष्ट कै कित्तामा उभ्याउनु पर्छ कि कित्ता परिवर्तन गर्नुपर्छ । पार्टीको नाम, झण्डा, पार्टीको  दस्ताबेज फेरेर गैरकम्युनिष्ट पार्टीको रुपमा अगाडी आउने हिम्मत गर्नसक्नु पर्छ । जनतालाई ढाँटने, ठग्ने र जनताकै कसम खाएर तिनलाई दमन गर्ने क्रम रोकिएन भने यो नामको बाँकी बचेको गरिमा पनि समाप्त हुने निश्चित छ ।
साम, दाम, दण्ड, भेदको आधारमा शासन गर्ने दिन अब गए । अब जनताले कुनै सिद्धान्त, के आदर्श कस्तो व्यवस्था भनेर हेर्दैनन् । जनहितकारी र राष्ट्रको रक्षामा काबिल भए जसलाई पनि स्वीकार गर्छन ।. उत्तरी युरोपका देशहरुले न त समाजबाद भनेका छन,न त साम्यवाद र पनि जनता सुखी छन, सन्तुष्ट छन । त्यसैले कांग्रेस कम्युनिष्टले देशको उन्नती, जनताको हित र राष्ट्रको गौरब बचाउने  कोशिसमा आफुलाई समर्पित गर्न सक्नुपर्छ संकट टार्ने यहिमात्र बिकल्प हो ।