गृहपृष्ठसमाचारप्रदेश

पोखरा महानगरपालिकामा बेथिति : धान खाने मुसो चोट पाउने ……..

पोखरा, १८ भदौ  ।
पोखरा महानगरपालिका चरम आर्थिक अनियमितता र भ्रष्ट्राचारको दलदलमा फँसेको छ । महानगरपालिकाले गल्ती गर्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउनुको सट्टा महानगरपालिकाका मेयरले नै दोषीलाई  संरक्षण गरी निर्दोषलाई कारवाही गर्ने र”धान खाने मुसो चोट पाउने भ्यागुतो” भन्ने उखानलाई महानगरमा अभ्यास गर्न लगाएका छन् ।
कुरा रामघाट, ढुँगा गिटी बालुवा संकलन सम्बन्धी ठेक्का पट्टाको हो । गत बर्षको कार्तिक २५ गते राजी कन्सट्रक्सनलाई ६ करोड ६५ लाख ५० हजार रुपैया राजस्व महानगरपालिकालाई बुझाउने गरी सम्झौता भएको थियो । उक्त सम्झौतामा तत्कालिन प्रमुख गंगालाल सुवेदी, राजस्व फाँटका प्रमुख छविलाल शर्मा र लेखा उपसचिब जयराम पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताको क्रममा ५० प्रतिशत रकम उक्त कन्सट्रक्सनले महानगरलाई बुझाएको थियो । जस मध्ये २ करोड नगद र १ करोड ६० लाख बैंक ग्यारेन्टी दाखिला गर्ने भनिएको छ र सोही बमोजिम गरियो पनि । बाँकी ५० प्रतिशत रकम सम्झौता भएको मितिले १५ दिन भित्र नबुझाएमा बैंक ग्यारेन्टी जफत गर्ने र सम्झौता रद्ध गर्न सक्ने महानगरपालिकाको निर्णय छ ।

सोही बर्षकै कार्तिकको २० गते महानगर सरकारले आफैले ठेक्कापट्टा अघि बढाउँदा ५० प्रतिशत रकम सम्झौताको अगावै र बाँकी ५० प्रतिशत सम्झौता भएको १५ दिन भित्र सम्बन्धित ठेक्कावालाले महानगरलाई बुझाउनुपर्ने नियम बनाएको छ । यदि नबुझाएमा बैंक मग्यारेन्टी जफत गर्ने र ठेक्का रद्ध गर्ने नियम छ । आफ्नै कानुनको मर्मलाइ लत्याएर राजस्व फाँटका तत्कालिन प्रमुख छविलाल शर्माले महानगरपालिकाका मेयरको निर्देशनमा ठेक्कावाला कम्पनीसँगबाट रकम लिएनन्  ।

रकम समयमा नआएपछि सम्बन्धित फाँटको कर्मचारी र जनप्रतिनिधि सबैको चासो हुनुपर्नेमा कसैको पनि चासो देखिएन । त्यही समय महानगरका प्रमुख प्रशासकिय अधिकृत र राजस्व फाँटका कर्मचारी दुवैको सरुवा भयो ।
त्यसपछि फाँटमा नयाँ कर्मचारी ल्याइए र प्रमुख प्रशासकिय अधिकृत पनि नयाँ । त्यो बिचमा लेखा उपसचिब जयराम पौडेल चीन भ्रमणमा गएको कारण पनि ठेक्का रकम उठाउन नसकेको पौडेलले स्वीकार गरेका छन । आफुले यस बारे जानकारी पाएपछि पटक पटक राजस्व उठाउन सम्बन्धित अधिकारीलाई जानकारी गराएको पनि लेखा प्रमुख पौडेलले बताएकाछन् । तर लेखा प्रमुखलाई भोली आउँछ, पर्सि आउँछ भन्दै फाँटवाला र जनप्रतिनिधिले टार्र्र्दै गए ।
महानगरपालिकाको राजस्व फाँटमा नयाँ प्रमुखमा आएका गणेश पाण्डेले ठेक्कासंझौताको फाईल खोलेर हेर्दा १५ दिन भित्र बाँकी ५० प्रतिशत रकम नआएको थाहा पाएपछि महानगरपालिकामा अर्काे खैलाबैला पनि मच्चियो ।
लेखा प्रमुख पौडेल सहितले बैठक डाकेर उक्त ठेक्कावालालाई कारवाही गर्ने प्रक्रिया शुरु गर्ने निर्णय भयो ।
यसैबीच उक्त करामत मिडियामा आयो । जनतामा कुरा पुगिसकेपछि त्यहा पत्रकार अपिल त्रिपाठीले महानगर कार्यालयमा पुगेर  सम्झौता र कारोबारका विवरण मागे । तर नगरपालिकाले दिन सकेन् । त्यसपछि जनप्रतिनिधि र फाँटवाला मिलेर रातारात २ करोड रुपैयाको बैक दाखिला गरेको समाचार श्रोतले जनाएकोे छ ।
पछि सो रकम ठेक्कावालासँगबाट लिएर उनीहरुले आफ्नै खातामा राखेको आशंका महानगरपालिकाका अन्य कर्मचारीले गरेका छन ।
तर मेयर मान बहादुर जिसी र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले दोषीलाइ कारवाही गर्नुको सट्टा आफै उम्कने गरी धान खाने मुसो चोट पाउने भ्यागुतोे भन्ने उखानलाई चरितार्थ पार्दै निर्दाेष कर्मचारीलाई कारवाही गर्ने र त्यतिमात्र नभएर मेयरको निर्देशनमा विषयलाई कारवाहीको जामा पहिराएर स्थानीय रुपमा चर्चित बनाएका छन् ।
“हामीले अफिसमा भइरहेको गलत काम बाहिर ल्याएको हौं, भ्रष्ट्राचार रोक्नु हाम्रो उद्धेश्य हो” लेखा उपसचिब पौडेलले भने “ कार्यालयमा कानुन सम्मत काम गर्न खोज्नेलाई मेयर र प्रमुख प्रशासकिय अधिकृतले निरुत्साहन गर्न खोज्नु कदापी मान्य हुँदैन” । उनले यस खालको आरोप लगाए पनि कर्मचारीको इमान्दारीतामा नै दाग लगाउन  कारवाहीको कानूनी आधार नभएको प्रमुख प्रशासकिय अधिकृतले ज्योतिन्युजलाई बताए ।साथै मेयरको विशेष निर्देशनमा प्रमुख प्रशासकिय अधिकृतले सरकारी वकिल कार्यालयसंग कर्मचारीलाई कारवाही गर्ने वारे रायमाग गरेको समेत महानगरपालिकाको प्रशासन उच्चश्रोतले बतायो  ।

एउटा मात्र कहाँ होे र ?

यो एउटा घटना मात्र होइन् पोखरामा भएको । ढावघाट दशखेतघाट, तुल्सीतराघाट, पुरन्चौर नयाँघाट, धोवीघाटमा नदीजन्य पदार्थ संकलनमा पनि यसै प्रकारको घोटला भएको छ । गत बर्षकै असोज १५ गते आरजे कन्सकट्रक्सनसँग १ करोड ८२ लाख ५५ हजार ८ सय ७५ रुपैयाको ठेक्का सम्झौता गरिएको थियो । उक्त सम्झौतामा रकम रसिद नं. ३१९७ मार्फत ९० लाख ५५ हजार ८७५ रुपैया भुक्तानी भएको र रसिद नं. २२९७ मा ९२ लाख नेपाल बंगलादेश बैंकमा बैंक ग्यारेन्टी पेश भएको उल्लेख गरिएको छ । तर बैंकमा दुवै रसिदबाट ७३ लाख रुपैया मात्रै जम्मा भएको छ । त्यसैगरी ११ लाखको चेक बाउन्स भएको छ । तर फाँटका तत्कालिन प्रमुख शर्माले चेक दाखिला गर्न छोडेर दराजमा थन्क्याएर राखेका थिए । जसले गर्दा महानगरको खातामा २८ लाखको हिसाब आएन् । पैसा नभएको चेकमाथि कारावाही नगरेको र ७३ लाख रुपैया बुझाएर ९२ लाख रकम बैंकमा जम्मा गरेको भनी तत्कालिन फाँटवाला शर्माले झुट्टा विवरण पेश गरी महानगरको राजस्व हिनामिना गरेको पनि देखिएकोे छ । यस सम्बन्धी मुद्धा अख्तियारमा पुगेको छ ।