गृहपृष्ठविचार

तेह्रौँ पुस्तकालय दिवसको सन्दर्भमा पुस्तकालय बारे छोटो चर्चा

तत्कालिन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा दरवारमा संकलित पुस्तकादि सामग्रीलाई पुस्तकालयको रुप दिइ तिनको संरक्षण एवं व्यवस्थापन गर्ने उदेश्यले वि. सं. १८६९ साल भदौ १५ गते “पुस्तक चिताई तहविल” मा राजाबाट लालमोहर लगाएको दिनलाई नेपालमा आधुनिक पुस्तकालयको विकासको प्रारम्भ भएको भन्ने आधार मानेर विगत १२ वर्षदेखी हरेक वर्ष भदौं १५ गते देशभर पुस्तकालय दिवस मनाउने गरिन्छ । पुस्तकालयको विकासमा टेवा पु¥याउने तथा पुस्तकालयसेवीको हौसला बढाउने उदेश्यले मनाउने गरिएको यो दिवसमा सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरिंदै आएको छ । पहिलो वर्ष २०६५ सालदेखी २०६९ सालसम्म गैर सरकारी तहको संयोजनमा मनाउने गरिएको यो दिवस २०७० सालदेखी नेपाल सरकारले नै आयोजना गर्दै आएको छ । साथै प्रारम्भिक चरणका केही वर्षहरुमा राजधानी काठमाण्डौ र पोखरा लगाएत केही सिमित शहरमा सिमित यो दिवस पछिल्लो समय देशव्यापी बन्दै गएको छ । विशेष गरी उपत्यका बाहिर रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुले यो दिवसलाई उच्च महत्वका साथ विविध कार्यक्रम गरेर मनाउने गरेका छन् ।

नेपालमा पुस्तकालयको विकास अत्यन्त सुस्त गतिमा अगाडि बढिरहेको बेला पुस्तकालय दिवस मनाउने कुरा एतिहासिक आवश्यकता र अत्यन्त सकारात्मक कदम थियो । पुस्तकालय दिवसमा आयोजना गरिने विभिन्न रचनात्मक सहभागितामूलक कार्यक्रमबाट पुस्तकालयप्रति मानिसहरुको ध्यान आकृष्ट गर्न ठूलो सहयोग पुर्याउने देखिन्छ । पुस्तकालयको विकास र पठन संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले हरेक पुस्तकालय दिवसमा एउटा नारा अथवा आदर्श वाक्य छनोट गर्ने गरिएको छ । सोही अनुसार पहिलो पुस्तकालय दिवसमा “सबैका लागि पुस्तकालय” भन्ने नारा तय गरिएको थियो भने अहिले १३ औं पुस्तकालय दिवस मनाई रहँदा “समाज रुपान्तरणका लागि पुस्तकालय” भन्ने नारा तय गरिएको छ । यस नाराको भाव अनुसार पसुस्तकालयको माध्यमबाट हाम्रो समाजलाई सकारात्मक रुपान्तरण गर्न सकिन्छ भन्ने हो । अध्ययन संस्कृतिको अभावमा हाम्रो समाज दिनानुदिन अराजकता र भ्रष्टिकरण तर्फ अगाडि बढि रहेको बेला यो नाराले अहम् महत्व राख्दछ ।
पछिल्ला वर्षहरुमा सिंगो समाज प्रविधिको प्रयोगतर्फ आकर्षित हुदै आएको छ । चाहे मोवाइलको प्रयोग होस् चाहे टेलिभिजनको प्रयोग होस् वा इन्टरनेटको प्रयोग नै किन नहोस् । मानिस प्रविधिको प्रयोगतर्फ आकर्षित भइरहेको समयमा गत डिसेम्बर १७, २०१९ मा चनिमा कोरोना नामक भाइरस देखा परेर छोटो अवधीमा नै यसको प्रभाव विश्वव्यापी महामारीको रुपमा फैलिएको र यसको प्रभाव तत्काल नहट्ने देखिएपछि सिंगों विश्व नै प्रविधिको अधिकतम् प्रयोग गर्न वाध्य भयो । कोरोनाको कारण मानिसले आवश्यकता, मनोरञ्जन र समय कटाउन प्रविधिको प्रयोग थाल्यो । जसलेगर्दा पछिल्लो समय मानिस प्रविधिको प्रयोगमा अभ्यस्त भइसकेको छ ।
लामो समयदेखी शैक्षिक संस्था बन्द भएका कारण विद्यार्थीको नियमित पठन पाठनमा अवरोध हुदै आएको छ । सामाजिक दुरी कायम राख्नुपर्ने बाध्यताको कारण अन्य निकायमा पनि भौतिक उपस्थितिको सट्टा प्रविधिको प्रयोगमा जोड दिंदै प्रविधिको प्रयोग गरेर आफ्ना नियमित काम गर्दै आएका छन् । खासगरी बैंकिंग क्षेत्र र आम संचार क्षेत्रले प्रविधिको प्रयोग गरेर नै आफ्ना नियमित कामहरु सञ्चालन गरिरहेका छन् भने औपचारिक शिक्षालाई निरन्तरता दिन विश्वविद्यालयहरुले पनि प्रविधिकै प्रयोग गरेर शिक्षण विधिलाई आंशिक रुपमा भएपनि निरन्तरता दिइरहेका छन् । विद्यालयस्तको पढाइ पनि प्रविधिको प्रयोग गरेर आशिक रुपमा सञ्चालन हुँदे आएका छन् ।

बन्दा बन्दिमा पुस्तकालयको महत्व

लामो समय बन्दाबन्दिमा जीवन विताउन बाध्य भएपछि हाम्रो समाज चाहेर वा नचाहेर पनि प्रविधिमा अभ्यस्त हुनुपर्ने बाध्यतामा पुगेको छ । तर जुनवेला अहिले जस्तो प्रविधिको विकास भएको थिएन त्यसबेला यसरी लामो समय बन्दाबन्दीमा बस्नुपर्दा अधिकांशको साथी पुस्तक हुन्थ्यो । शिक्षित समाजले अध्ययनलाई विशेष जोड दिएको पाइन्थ्यो । तर अहिले अध्ययन गर्ने वानी पुरै हराएर गएको देखिन्छ । अध्ययनमा पटक्कै रुची देखिदैन । जसलेगर्दा नविनतम् सिर्जनाहरु अत्यन्त साँघुरिदै गएका छन् । मानिसको मुख्य ध्यान खानपिन र मनोरञ्जनतर्फ नै बढि आकर्षित देखिन्छ । साँच्चै भन्ने हो भने पछिल्लो समय बामे सर्ने बच्चादेखी वृद्धसम्म टिकटक र फेसबुकमा विताउने गरेका छन् । कोरोनाको महामारीको कारण लामो समय घरमै रहन पर्दा समेत अधिकांशमा स्वअध्ययनप्रति पटक्कै रुची गएको देखिदैन । जसलेगर्दा समाजिक सञ्जालमा देखिने केही लेख रचनाहरु पनि अत्यन्त हल्का, विषयवस्तुको गहिराइमा नपुगेका सस्तो विश्लेषणमा आधारित देखिन्छन् ।
अन्तमा, १३ औं पुस्तकालय दिवसको अवसरमा पुस्तकालयको विकल्प पुस्तकालय नै हो । पुस्तकालयको औचित्य समाप्त भएको छैन, बरु अझ महत्व बढेर गएको छ । अध्ययनका विषयवस्तुहरुको क्षेत्र विसाल बन्दै गइरहेको छ । समय र आर्थिक श्रोतको उपलब्धताका बीचमा तालमेल गरेर आफ्नो अध्ययन अनुसन्धानलाई निरन्तरता दिनु परेको छ । त्यसैले हो पछिल्लो समय प्रविधिमा भएको तिव्र विकासले गर्दा परम्परागत पुस्तकालयमा पाठकको आकर्षण घट्दो क्रममा रहेको कुरालाई अस्वीकार गर्न सकिदैन । तर धेरै पुस्तकालयहरु प्रविधिमैत्री बन्दै गएका छन् भने पाठकको मनो विज्ञान र प्रविधिको तिव्र विकासलाई मध्यनजर गर्दै अनलाईन र भर्चुअल पुस्तकालयको अवधारणा आइसकेको छ । विकसित मुलुकहरुमा अनलाइन र भर्चुअल पुस्तकालयको प्रयोगमा पाठकको आकर्षण बढिरहेको बेला नेपालमा पनि पछिल्लो समय यस क्षेत्रमा भएका प्रयासहरुलाई समायोजन गर्दै परम्परागत पुस्तकालयहरुलाई प्रविधिमैत्री बनाउनु जरुरी देखिन्छ । त्यसैगरी पछिल्लो समय उत्पादन भइरहेका विधुतीय अध्ययन सामग्रीलाई एकिकृत गरी विधुतीय पुस्तकालय/अनलाइन पुस्तकालय/डिजिटल पुस्तकालय वा भर्चुअल पुस्तकालयको अवधारणालाई व्यापक बनाउनु जरुरी देखिन्छ । “पुस्तकालयको विकल्प पुस्तकालय नै हो” भन्ने सत्यलाई सबैले मनन गर्नु त्यत्तिकै जरुरी देखिन्छ । जय पुस्तकालय दिवस ।

(लेखकःनेपाल सामुदायिक पुस्तकालय संघका उपाध्यक्ष हुन ।)