गृहपृष्ठराजनीतिविचार

नेपाललाई हेर्ने चिनियाँ दृष्टिकोण


नेपालको चीनसँग प्रागऐतिहासिक कालदेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको छ । भाषा, संस्कृति, सामाजिक, राजनीतिक सम्बन्धका कारण नेपालको सम्बन्ध चीनसँग भन्दा भारतसँग मिल्दो छ । यसका बावजुद पनि चीनले नेपाललाई असल र नजिकको छिमेकीको रुपमा दुःख सुखमा साथ दिँदै आएको छ । चीनले असल छिमेकीको रुपमा विश्वास ग र्दै आएको हुनाले पनि नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन । राजनीतिक रुपमा राजतन्त्र होस वा गणतन्त्र चीनले खासै विभेद गरेको पाइदैन । चीनले निरन्तर नेपालमा शान्ति, स्थायित्व विकास र सम्बृद्धि चाहेको देखिन्छ । किनभने नेपालमा शान्ति र स्थायित्व हुँदा मात्र चीनको सुरक्षा स्वार्थ पुरा हुने देखिन्छ । नेपालमा चीन विरोधी खम्पा विद्रोह राजनीतिक स्थायित्व सहितको निरंकुश राजतन्त्रले अन्त्य गर्न सफल भयो । नेपालमा जति अस्थिरता हुन्छ त्यति तिब्बत विरोधी गतिविधि हुन सक्दछ भन्ने बुझाई चीनको रहेको देखिन्छ । चीनले बेलाबखत नेपालमा वैदेशिक हस्तक्षेप चीनको लागि स्वीकार्य नहुने भन्दै चेतावनी दिएको पाइन्छ । नेपालमा विदेशीको इशारामा नचल्ने स्थायी राजनीतिक शक्तिको सरकार चलोस जसले नेपालको विकास र समृद्धि र स्थायित्व कायम गर्न सकोस् भन्ने चाहना चीनको रहेको देखिन्छ । चीनको यही सोचका कारण नेपालमा राजतन्त्र स्थायी र राष्ट्रवादी शक्ति हो भन्ने भ्रमपूर्ण विश्वासका कारण तत्कालिन राजा ज्ञानेन्द्रको शाही कदमलाई चीनले नेपालको आन्तरिक मामिला भन्दै उसलाई हातहतियार, गोलीगठ्ठा दिने, ज्ञानेन्द्रलाई चीन भ्रमण गराउने र चीनका विदेशमन्त्री नेपाल भ्रमण गर्ने जस्ता काम गरेको पाइन्छ । जतिबेला नेपालमा युद्धरत माओवादी सहित नेपालका तत्कालिन मुल धारका राजनीतिक दल ज्ञानेन्द्र शाहको शाही कदमका विरुद्ध आन्दोलनरत थिए । त्यस्तो अवस्थामा समेत चीन राजाको निरंकुश कदमको पक्षमा उभिनु भनेको नेपालमा राजा स्थायी शक्ति हो भन्ने चिनियाँ बुझाइ हो भन्ने बुझिन्छ । नेपालमा गणतन्त्र स्थापना भएपछि नेपालप्रतिको चिनियाँ नीतिमा परिवर्तन आएको देखिन्छ । २०६४ जेठ २७ गतेको नेपाल पत्रिकामा चिनियाँ राजदूत स्यालिङले भनेका छन् चीन स्वाधिन, शान्ति, आत्मानिर्भरतामा आधारित परराष्ट्र नीति अंगिकार गर्दछ । चीन सरकार र जनता आफ्ना छिमेकीसँग सौहार्दपूर्ण सहकार्य सहअस्तित्व राख्न तथा समझदारी र मित्रता बढाउन तयार छ । नेपालको प्रसंगमा उनले नेपाली जनताको कुनै पनि समस्या र दुःख हामी हाम्रै दुखका रुपमा लिन्छौं । बदलिंदो परिस्थितिमा नेपालप्रति चीनको नीति पनि बदलिएको छ । चीनको वर्तमान नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको छ र त्यही अनुसारको व्यवहार र सहयोग गर्दै आइरहेको देखिन्छ । चीनले नेपाल र चीन सम्बन्ध परम्परागत भन्दा पनि युगको माग अनुसार पारस्परिक लाभका उसको बढ्दो प्रभावलाई रोक्न चाहन्छ । चीनले नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र रहोस विदेशी हस्तक्षेप, अस्थिरता, कलह नहोस, शान्ति स्थायित्व होस् भन्ने चाहना राखेको देखिन्छ । सबल र स्थायित्वसहितको नेपालबाट मात्र तिब्बतको सुरक्षा हुन सक्ने चाहना चीनको रहेको देखिन्छ ।

(लेखक : नेपाल -चीन सम्बन्धमा त्रिविमा  विद्यावारिधिका शोधार्थी हुन )