गृहपृष्ठविचार

ऐतिहासिक परिस्थितिमा नेपाल चीन सम्बन्ध

नेपाल चीनबीचको सम्बन्ध प्रागऐतिहासिक कालदेखि नै रहँदै आएको पाइन्छ । यस्तो सम्बन्धको प्रमुख (सेतु) आधार भनेको बुद्ध धर्म रहेको पाइन्छ । नेपाल उपत्यका बन्नुभन्दा पहिला नै चिनियाँ बौद्ध भिक्षु (सुपासा) महामञ्जुश्री नेपाल आएको र तिनै मञ्जुश्रीले उपत्यकाको पानी चोभारको डाँडाबाट खोली बाहिर पठाई उपत्यकालाई बस्न योग्य बनाएको भन्ने ऐतिहासिक तथ्य अहिले पनि रहिआएको छ । शाक्य उनी बुद्ध दर्शन नेपाल र चीनबीच सम्बन्ध कायम राख्ने सुत्रको रुपमा रहेको देखिन्छ । यद्यपि बुद्ध दर्शन नेपालबाट चीन हुँदै अन्य मुलुकमा फैलिदै गएको पाइन्छ । विश्व इतिहासमा नेपाल चीन सम्बन्धको आधार अन्तरसांस्कृतिक घुलन रहेको कुरा कसैबाट छिपेको छैन । चिनियाँ बौद्ध भिक्षुहरु फाइयान र ह्वेसाङ जस्ता विद्वानहरु बुद्धको जन्मस्थल लुम्बिनी आएको कुरा उनीहरुको यात्रा वर्नणमा उल्लेख भएकाले चीनले नेपालको लुम्बिनीलाई बुद्ध धर्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउन २०१६ मा सहमति जनाइसकेको छ । भारतले पनि बुद्ध जन्मेको र उनले गरेका गतिविधिलाई जोडेर बुद्ध सर्किट बनाउने घोषणा गरेको छ । यसैले बुद्ध धर्म नेपाल, चीन, भारतलाई जोड्ने सबैभन्दा महत्वपूर्ण कडीको रुपमा रहेको देखिन्छ । नेपाली बौद्ध भिक्षु, बुद्ध भद्र शाक्यले बुद्ध धर्मलाई चीनसम्म फैलाउन महत्वपूर्ण योगदान गरेका थिए । कपिलवस्तुको तिलौराकोटमा जन्मिएका बुद्ध भद्र काश्मिरको बौद्ध विहारमा अध्ययन गर्दा चिनियाँ बौद्ध भिक्षुहरुसँग सम्पर्क गरी उनी चीन पुगी बुद्ध दर्शन र धर्मबारे अध्यापन गराउने र प्रचार गर्न थाले । बुद्ध धर्मलाई चीनसँग जोड्ने काममा बुद्ध भद्रको अद्वितीय योगदान रहेको छ । नेपाली राजकुमारी भृकुटी तत्कालिन तिब्बतका राजा सङचङ गम्पोसँग विवाह गर्ने नेपाली उच्च महिला हुन् । उनलाई तिब्बतमा हरित ताराको उपमाले चिनिन्छ । तारा भनेको बुद्ध धर्ममा सरस्वतीको रुप हो । भृकुटी बुद्ध धर्ममा विश्वास गर्ने भएकाले उनले तिब्बतमा बुद्धका मुर्ती लगेर बुद्ध धर्मको प्रचार गर्ने, गुम्बा, मन्दिर बनाउने, नेपाल र भारतबाट बौद्ध भिक्षुहरु बोलाएर बौद्ध धर्मको प्रचार गर्न लगाउने काम गरिन् । उनको यो कामलाई उनका पति तथा राजा सङचङ गम्पोले पनि साथ दिएका थिए । भृकुटीले नेपालबाट लगेका मुर्ती तिब्बतको पवित्र जोखाङ विहारमा राखिएको छ । नेपालले राष्ट्रिय विभूतिम घोषणा गरी मर्यादा गर्दै आएको भृकुटी नेपाल चीन बीच बुद्ध धर्म मार्फत सम्बन्ध बलियो बनाउने एउटा प्रमुख ऐतिहासिक पात्र हुन् । यसैगरी नेपालका प्रख्यात कलाकार अरनिको नेपाल चीन सम्बन्ध जोड्ने अर्का ऐतिहासिक सांस्कृतिक पात्र हुन् । कला संस्कृतिमार्फत् नेपाल चीन सम्बन्ध जोड्ने ऐतिहासिक काम अरनिकोले १७ वर्षको उमेरबाट गरेका थिए । कलाकार अरनिकोको नेतृत्वमा २४ जनाको टोली तिब्बत मगाई तत्कालिन तिब्बती राजा उल्लाखाँले सुवर्ग स्तुप बनाउन लगाएका थिए । उनले बनाएको स्तुपाबाट प्रभावित भई उनलाई चीनको राजधानी बेइजिङ लगिएको थियो । उनको कलाबाट प्रभावित भई चिनियाँ बादशाहले उनलाई भगवानको उपमा दिई नेपाल फर्कन दिएनन् । उनले चीन बस्दा बेइजिङमा ठूलो सेतो चैत्य (ह्वाइट पेगोडा) निर्माण गरे । जसलाई अहिले पनि नेपाल चीनबीचको सम्बन्धको प्रतीक मानिन्छ । सन् १३०५ मा अरनिकोको मत्यु भएपछि उनलाई चीन सरकारले मन्त्रीसरहको उपाधि दिएको थियो । उनको समाधीस्थल ह्वे प्रान्तको च्याङ गाउँमा गरियो । कलाकार अरनिकोले कलामार्फत् नेपाल चीन बीच ऐतिहासिक सम्बन्ध कायम राख्न महत्वपूर्ण योगदान गरे । नेपाल र चीनबीच सम्बन्धको प्रमुख आधार बुद्ध धर्म, संस्कृति रहेको देखिन्छ । बुद्ध धर्म, ललितकला, वैवाहिक सम्बन्ध जस्ता कुराले नेपाल चीन बीचको प्रागऐतिहासिक सम्बन्ध बलियो रहेको पाइन्छ । आधुनिक राज्यहरुको निर्माण सँगै नेपाल चीनबीचको सम्बन्ध औपचारिक रुपमा अगाडि बढ्दै आएको पाइन्छ । खासगरी चीनमा १९४९ मा माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले जनवादी गणतन्त्र चीनको स्थापना ग¥यो । नेपालमा राणा शासन विरुद्धको संघर्ष गरेर नेपाली जनताले १९५१ मा बहुदलीय व्यवस्थाको स्थापना गरे । देशमा आएको राजनीतिक परिवर्तनसँग दुई देशबीचको सम्बन्ध नयाँ ढंगले अगाडि बढाउन दुवै देश इच्छुक देखिएको पाइन्छ । जसको परिणाम १९५५ अगस्त १ का दुई देशबीच औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना हुन गयो । पाँचौं शताब्दीदेखि रहिआएको पुरानो ऐतिहासिक सांस्कृतिक सम्बन्धले औपचारिक रुपमा १९५५ बाट संस्थागत हुने अवसर प्राप्त ग¥यो । यो ऐतिहासिक सम्बनध औपचारिक रुपमा शुरु भएको आज ६४ वर्षा गौरवमय दिन वितिसकेका छन् । यस बीचमा नेपाल चीन सम्बन्ध गतिशील, आपसी विश्वास, हार्दिकताका साथ अगाडि बढिरहेको छ । दुई भिन्न राजनीतिक व्यवस्था अपनाएका यी दुई मुलुक असल छिमेकीको रुपमा विश्वसामु उदाहरण बनिरहेका छन् । एक चीन नीतिमा अडिक नेपालले आफ्नोभ भूमि कुनै पनि छिमेकी राज्यका विरुद्ध प्रयोग हुन नदिने घोषित नीति रहेको छ । चीनले पनि नेपाललाई समानताका आधारमा नेपालको सार्वभौम सत्ता र अखण्डताको सम्मान गर्दै नेपालको नेपाल र नेपाली जनताको विकास र सम्बृद्धिका लागि निरन्तर सहयोग गर्दै आइरहेको छ । चीनको विश्वासिलो असल छिमेकी राष्ट्र भएकाले नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा लगायत गोन्जाओ, हङकङ जस्ता ठूला चिनियाँ शहरमा महावाणिज्य दुतावास खोल्ने नेपाल एक मात्र राष्ट्र हो । चीनको स्वशासित क्षेत्र तिब्बतमा चीन सरकारले कैयौं राष्ट्रहरुलाई प्रवेश निषेध गरेको छ । तर नेपालले त्यहाँ आफ्नो सरकारी संयन्त्र सञ्चालन गर्नु दुई देशबीचको आपसी विश्वासको एउटा खुल्ला उदाहरण हो ।

(लेखक : नेपाल -चीन सम्बन्धमा त्रिविमा  विद्यावारिधिका शोधार्थी हुन )