गृहपृष्ठस्वास्थ्यकोरोना बिशेष

कलैया आइसोलेसनमा बिजुली र पानीको अभाव : सविनाको बिजोग

सिमरा ।
जीतपुरसिमरा उपमहानगरकी सबिना थापालाई शुरुमा हल्का ज्वरो आयो । भोलीपल्ट उनको बुबाको जन्मदिन थियो । घरमै रमाइलो गर्दा के फरक पर्ला भन्ने लागेर घरमा केक काटेरै बुबाको जन्मदिन मनाइयो ।
अघिल्लो दिन हल्का ज्वरो आएको उनलाई भोलीपल्ट ज्वरो त कम भयो तर सास फेर्न समस्या भयो । त्यसपछि उनले सिमरा स्थित स्वास्थ्य चौकीमा आएर डाक्टर भेट्न खोजिन् । अस्पताल सुनसान थियो । अस्पतालकै एकजनामा संक्रमण देखिएपछि अस्पतालमा को ही स्वास्थ्यकर्मी नभएको जानकारी पाए पछि उनी वडा कार्यालय पुगिन् ।
त्यहाँ वडा सचिव भेटिए र पिसिआर परिक्षणका लागि सिफारिस गरिदिए । उनी त्यो सिफारिस लिएर तत्कालै सिमरास्थित कोरोना अस्थाई अस्पताल पुगिन् ।
अस्पतालको मुलगेटबाट भित्र छिर्न नपाउंदै उनलाई बाहिर निस्किन अनुरोध गरियो । उनले सिफारिस देखाउँदै भनिन् “मलाई कोरोनाको सिम्टम्सहरु छ, ज्वरो आइराछ, टाउको दुखिराछ, सास फेर्न गार्हो भइराछ”, मेरो पिसिआर परिक्षण गरिदिनुस् ।
तर पनि उनलाई भित्र बोलाइएन, सिफरिस पत्र देखाउँदा समेत त्यहाँका डाक्टरहरुले कुनै वास्ता नगरेपछि दुःखी हुँदै पुनः बोलाउने प्रतिक्षामा निकै बेर बाहिर बसिन् । त्यत्तिकैमा केहीबेरपछि उनलाई सिफरिस दिने वडा सचिव नै त्यहाँ आइपुगे ।
त्यसपछि बल्ल उनको स्वाव संकलनका लागि नाम लेखियो । तर उनलाई भनिएको थियो, ‘तपाईको पालो आज नआउन पनि सक्छ, धेरै जनाको नाम छ ।’
अगाडी नाम लेखाएकाहरु र पहिले पालो आउनेहरु आफुले चिनेजानैकै मान्छेहरु भएको उनी सुनाउँछिन् । कुनै लक्षण नभएका र ख्यालख्यालमा नाम लेखाएकाहरु धेरैले आएर स्वाब दिएर गएपछि अन्तिममा उनको पालो आयो ।
स्वाब दिएर घरमा एक्लै बस्न थालेको ३÷४ दिनपछि अस्पतालबाट फोन आयो । अन्ततः उनी संक्रमित देखिइन् र उनलाई आइसोलेसनमा राख्न कलैया क्वारेन्टाइन लाने तयारी गरियो । घरमै छुट्टै कोठामा बस्ने सविनाको आग्रहलाई गाउँलेहरुले बिरोध गरेर घरमा राख्न दिएनन् । त्यसपछि उनलाई कलैयास्थित शिक्षा समन्वय इकाईमा रहेको क्वारेन्टाइनमा ल्याइयो ।
सिमरामा भेन्टिलेटर, अक्सिजन आदी केही नभएकाले कलैया लैजान लागिएको भनिएपनि उनी जहाँ बसेकी छन्, त्यहाँ त्यस्तो केही सुबिधा नभएको उनको गुनासो छ ।
उनको आइसोलेसनको दुःख लाग्दो कहानी छ । क्वारेन्टाइनको ब्यवस्थापन बाहिर भनिएजस्तो छैन । विरामीको संख्या अनुसार तोकेर आएका खाजाका पोकाहरु समेत उनको हातमा पर्न मुस्किल पर्छ । ‘मलाई खाजा पुगेन भनेर गुनासो गर्यो भने कुनै सुनुवाई हुँदैन । क्वारेन्टाइनमा बस्ने एउटैले २ देखि ३ पोकोसम्म बोकेपछि भाग पुग्ने कुरै भएन । सिसि क्यामेरा छ तर निगरानी छैन । कसैलाई कसैको मतलव छैन ।’ उनी सुनाउँछिन् ।
अझ महिला भएकोले झन समस्या परेको उनको नमिठो अनुभव छ । दिसापिसाबका लागि टवाइलेट एउटै छ । कतिपय अवस्थामा पुरुषहरु ढोकामा चुक्कुन नलगाई दिसा पिसाव गर्छन् ।
आफु टवाईलेट जानुपरे छिर्न नपाउंदै बाहिरबाट ढ्याक ढ्याक गर्न सुरु गर्छन् । यहाँको फोहर बयान गरि नसक्नुको छ । कोठासम्मै टवाइलेटको दुर्गन्ध आएर बस्न नसक्ने अवस्था छ । सबिनासंगै अन्य ३ जना महिलाहरु एउटै कोठामा राखिएको छ ।
पछिल्लो समय क्वारेन्टाइनमा पानीको समेत समस्या देखिन थालेको उनी बताउँछिन् । ‘दुईदिनदेखी बिजुली छैन, पानीको त्यस्तै हाहाकार छ । भोकमा नास्ता समेत हातमा पर्दैन । रेखदेख गर्ने कोही छैन ।’ उनले भनिन् ।
उता सविना क्वारेन्टिन पुगेको ९ दिन पुगिसक्दा पनि उनका परिवारको पिसिआर परिक्षण रिपोर्ट अर्झै आइपुगेको छैन । ज्वरो आएकै भोलीपल्ट जन्मदिन मनाएकाको परिवारमा संक्रमण पुष्टी भएको ४ दिनपछि मात्र पिसिआरका लागि स्वाव संकलन गरिएको छ ।
अहिले सविनाको बुबामा कुनै लक्षण नभएपनि आमामा भने कोरोनाकै लक्षणहरु देखिइरहेको छ । तर पिसिआर परिक्षण पालो सिस्टममा राखिएको हुनाले सिमराका जनप्रतिनिधीको पालोपछि मात्र उनीहरुको पिसिआर परिक्षण गरिएको हुनाले अहिलेसम्म स्वाबको रिपोर्ट आएको छैन ।
सविनालाई लागेको छ उनकी आमाको रिपोर्ट शतप्रतिशत पोजेटीभ निस्कनेछ । ‘सिकिस्तै जस्तो हुनुहुन्थ्यो, अहिले अली ठिक छ ।’ उनले भनिन् , ‘मैले त दुःखलाई झेलेँ, तर अब आमाको पीर छ ।’ उनले भनिन् ।